सार्वजनिक खरिदका विधिहरु व्याख्यात्मक विश्लेषण 3.1

सिलबन्दी दरभाउपत्र विधिको पुरा व्याख्या

September 26, 2026

Sealed Quotation Key Points to remember:

  • सामान्यतया २० लाख सम्मको खरिदमा मात्र प्रयोग
  • सात दिनको सुचना
  • तीनवटा दरभाउपत्र पर्नैपर्छ नत्र पुन आह्वान जरुरी
  • न्युनतम ले नै पाउछ (बोलपत्र जस्तो औषतले होइन)

सिलबन्दी दरभाउपत्र (Sealed Quotation) विधिको विस्तृत व्याख्या

  • सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४० मा सिलबन्दी दरभाउपत्र सम्बन्धी व्यवस्था रहेको छ । ऐनले सिलबन्दी दरभाउपत्रद्वारा खरिद गर्न सकिने मालसामान निर्माण कार्य  वा अन्य सेवाको रकमको सीमा तोकिए बमोजिम हुनेछ भनेको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४ मा सिलबन्दी दरभाउपत्र मार्फत खरिदको विस्तृत व्यवस्था गरेको छ । यसमा सार्वजनिक निकायले स्वीकृत कार्यक्रम र खरिद योजना अनुसार बीस लाख रुपैया सम्म लागत अनुमान भएको मालसामान निर्माण कार्य वा जुनसुकै सेवा ऐनको दफा ४० बमोजिम सिलबन्दी दरभाउपत्र  आह्वान गरी खरिद गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ ।  साथै पचास लाख रूपैयाँसम्मको एक्सरे, इसिजी, औषधिजन्य मालसामान, रोगको निदान तथा उपचारको लागि प्रयोग हुने स्वास्थ्य सम्बन्धी उपकरणहरू खरिद गर्दा समेत यो विधि प्रयोग गर्न सकिनेछ।  खरिदको यो विधिले  साना तथा मझौला प्रकृतिका खरिद कार्यहरू छिटो, छरितो र पारदर्शी रूपमा सम्पन्न गर्न "सिलबन्दी दरभाउपत्र" विधिको स्पष्ट कानूनी व्यवस्था गरेका छन्। यस सम्बन्धी ऐन र नियमावलीका पूर्ण व्यवस्थाहरू र बोलपत्र विधिसँग यसको भिन्नता तल प्रस्तुत गरिएको छ:

१. सार्वजनिक खरिद ऐन, २०६३ को पूर्ण व्यवस्था

ऐनको दफा ४० मा सिलबन्दी दरभाउपत्र सम्बन्धी देहायबमोजिमको व्यवस्था गरिएको छ:

  • सिलबन्दी दरभाउपत्रद्वारा खरिद गर्न सकिने मालसामान, निर्माण कार्य वा अन्य सेवाको रकमको सीमा तोकिए बमोजिम हुनेछ।
  • सिलबन्दी दरभाउपत्र माग गर्नु अघि खरिद गर्ने मालसामान, निर्माण कार्य वा अन्य सेवाको स्पेसिफिकेशन, गुणस्तर, परिमाण, आपूर्तिका शर्तहरु र समय तथा अन्य आवश्यक कुराहरुको विवरण स्पष्ट रुपमा उल्लेख गरी सिलबन्दी दरभाउपत्रको फाराम तयार गर्नु पर्नेछ।
  • सिलबन्दी दरभाउपत्र माग गर्दा राष्ट्रिय वा स्थानीय स्तरको समाचारपत्रमा कम्तीमा सात दिनको अवधि दिई सूचना प्रकाशन गर्नु पर्नेछ। तर विद्युतीय खरिद प्रणाली मार्फत सिलबन्दी दरभाउपत्र आह्वान गरिएको अवस्थामा यस्तो आह्वानको सूचना विद्युतीय खरिद प्रणाली बाहेक अन्य माध्यमबाट प्रकाशन गर्नुपर्ने छैन।
  • एकपटक पेश भएको सिलबन्दी दरभाउपत्र फिर्ता वा संशोधन गर्न सकिने छैन।
  • तोकिएका शर्तहरु पूरा गरी लागत अनुमानभित्र परेको न्यूनतम मूल्याङ्कित दरभाउपत्र स्वीकृत गर्नु पर्नेछ।
  • सिलबन्दी दरभाउपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

२. सार्वजनिक खरिद नियमावली, २०६४ को पूर्ण व्यवस्था

नियमावलीको नियम ८४ मा यस सम्बन्धी विस्तृत प्रक्रिया तोकिएको छ:

  • रकमको सीमा: सार्वजनिक निकायले स्वीकृत कार्यक्रम र खरिद योजना अनुसार बीस लाख रूपैयाँसम्म लागत अनुमान भएको मालसामान, निर्माण कार्य वा जुनसुकै सेवा सिलबन्दी दरभाउपत्र आव्हान गरी खरिद गर्न सक्नेछ। तर पचास लाख रूपैयाँसम्मको एक्सरे, इसिजी, औषधिजन्य मालसामान, रोगको निदान तथा उपचारको लागि प्रयोग हुने स्वास्थ्य सम्बन्धी उपकरणहरू खरिद गर्दा समेत यो विधि प्रयोग गर्न सकिनेछ।
  • फाराम र दस्तुर: सिलबन्दी दरभाउपत्र पेश गर्न इच्छुकले एक हजार रूपैयाँ तिरी फाराम खरिद गर्नुपर्नेछ । (विद्युतीय प्रणालीको हकमा दस्तुर लाग्दैन)।
  • सूचना प्रकाशन: राष्ट्रिय वा स्थानीय स्तरको समाचारपत्रमा कम्तीमा सात दिनको अवधि दिई सूचना प्रकाशन गर्नुपर्नेछ । तर विधुतीय खरिद प्रणाली मार्फत सिलबन्दी दरभाउपत्र आह्वान भएको भए यस्तो सुचना समाचारपत्रमा प्रकाशन गर्नु पर्दैन ।
  • जमानत: स्वीकृत लागत अनुमान रकमको २ देखि ३ प्रतिशत सीमाभित्र रही निश्चित रकम तोकी जमानत माग गर्नुपर्छ, जसको मान्य अवधि ७५ दिनको हुनुपर्छ।
  • न्यूनतम सहभागिता: पहिलो पटकको सूचना बमोजिम पेश भएका दरभाउपत्र मध्ये न्यूनतम तीन वटा दरभाउपत्र सारभूत रुपमा प्रभावग्राही हुने अवस्थामा मात्र सबैभन्दा कम कबोल अङ्क रहेको दरभाउपत्र स्वीकृतिका लागि छनौट गर्नुपर्छ।
  • पुन: सूचना: पहिलो पटक तीनभन्दा कम दरभाउपत्र पेश भएमा वा पेश नै नभएमा दोस्रो पटक सूचना प्रकाशन गर्नुपर्नेछ। दोस्रो पटक पनि आवश्यक सङ्ख्यामा दरभाउपत्र नआएमा पेश भएका मध्येबाटै स्वीकृत गर्न बाधा पर्ने छैन।
  • सम्झौता: दरभाउपत्र स्वीकृत भएको ७ दिनभित्र सम्झौता गर्न आउन सूचना दिने र सो सूचना पाएको ७ दिनभित्र कार्यसम्पादन जमानत पेश गरी खरिद सम्झौता गर्नुपर्नेछ।

बोलपत्र भन्दा सिलबन्दी दरभाउपत्र के के कुरामा फरक छ भन्ने  जान्न यहाँ क्लीक गर्नुहोस । 


सिलबन्दी दरभाउपत्रको नमुना कागजातहरु डाउनलोड गर्न क्लीक गर्नुहोस  (GOODS)   (WORKS)